कोरोना परीक्षणमा शुल्क असुल्ने तीन अस्पतालको छानबिन गर्न समिति गठन
Tuesday, July 14th, 2020, 1:46 pm
३० असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबैध रुपमा कोरोना परीक्षण गरी शुल्क उठाउने अस्पतालको छानविन गर्न छानबिन समिति गठन गरेको छ।मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको हो।
उपत्यकाका ग्राण्डी, ह्याम्स अस्पताल र जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले स्वीकृति नलिएरै कोरोना भाइरसको परीक्षण गरेको विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएका छ ।
मन्त्रालयले यी तीन अस्पतालले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग मनपरी शुल्क उठाएको गुनासो आएपछि छानबिन गर्न लागेको जनाएको छ ।
मन्त्रालयबाट स्वीकृत नलिई यी अस्पतालहरुले कोभिड(१९ को परीक्षण गरिरहेको भन्नेबारे छानबिन गरी २ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको गुणस्तर मापन तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर विकास देवकोटाले रेइन्यूजसँग जानकारी दिनुभयो ।