तनहुँ पहिरोमा परी ११ जनाको मृत्यु, १ जना बेपत्ता
Monday, July 13th, 2020, 4:52 pm
काठमान्डौ, २९ असार। गण्डकी प्रदेशको तनहुँका विभिन्न स्थानमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ। ४ दिनदेखि परेको वर्षाका कारण गएको पहिरोमा परी तनहुँको म्याग्दे गाउँपालिकामा १, व्यास नगरपालिकामा ५ र ऋषिङ गाउँपालिकामा ५ जनासहित ११ जनाको मृत्यु भएको छ । व्यास नगरपालिकाका १ जना बेपत्ता भएका छन् ।
म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किँदा १५ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । व्यास नगरपालिका ९ माझफाटमा पहिरोले पुरिएर ७० वर्षीया वृद्धाको मृत्यु भएको छ । त्यस्तै, सोही स्थानमा केशवबहादुर थापाको घर भत्किँदा एउटै परिवारका ४ जनाको मृत्यु भएको छ ।
पहिरोमा परी मृत्यु हुनेमा कमला थापा, उनका ठूलो छोरा मदन थापा, अर्का छोरा राजेश थापा र बुहारी अन्जना थापा रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ । घरमा पुरिएका ५० वर्षीय केशव थापाको उद्धार गरेर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए।
उनका अनुसार ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलीमा पहिरोले आनबहादुर थापाको घर बगाउँदा एकै परिवारका पाँच जना मृत्यु भएको छ । पहिरोमा परी थापाका ३० वर्षका छोरा भेषबहादुर थापा, बुहारी नानुमाया थापा र ५ वर्षीया नातिनी अमिसा थापासँगै अर्का २२ वर्षीय छोरा महादेव थापा र बुहारी मनिसा थापाको मृत्यु भएको छ ।