नेपाल आयल निगमको नाफा ६ अर्ब बढी
Monday, July 13th, 2020, 11:19 am
काठमाडौं, असार २९ । नेपाल आयल निगमले चालू आर्थिक वर्षमा ६ अर्ब भन्दा बढी खुद नाफा गरेको छ ।
पेट्रोलियम खरिद, ढुवानी, सरकारको कर तथा सबै खर्च कटाएर निगमको चालू आर्थिक वर्षमा नाफा आर्जन हुने प्रक्षेपण गरिएको निगमले जनाएको छ ।
कुल कारोबारमा भारतीय रुपैयाँको भुक्तानी, सरकारले उठाएको विभिन्न शीर्षकको कर, प्रशासनिक खर्च, ढुवानी र बिमा खर्च कटाएर सो बराबरको नाफा हुने निगमको प्रक्षेपण छ ।
नाफाको २५ प्रतिशत आयाकर सरकारलाई बुझाउँदा करिब ४ अर्ब घटेर निगमको खुद नाफा ६ अर्ब भन्दा माथि हुने निगमको अनुमान छ ।
गत शुक्रबारको मूल्य समायोजनपछि निगमलाई सामान्य घाटा भएपनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा ग्यासमा भएको नाफाले निगमले नाफा कमाएको हो ।
पेट्रोलियम पदार्थ खरिद गर्दा चालू आर्थिक वर्षमा निगमले डेढ खर्ब रुपैयाँ भारतीय आयल कर्पोरेसनलाई बुझाएको छ ।
यो वर्ष करिब २४० अर्बको पेट्रोलियम कारोबार गरेको निगमले भारतीय आयल कर्पोरेसनलाई मात्रै एक खर्ब ४७ अर्ब रुपैयाँ भुक्तानी गरेको जनाएको छ । गत वर्ष निगमले एक खर्ब ९३ अर्ब रुपैयाँ आईओसीलाई भुक्तानी गरेको थियो ।