संखुवासभाको सिसुवा पहिरोमा जनाको जीवितै उद्धार, ११ अझै बेपत्ता
Sunday, July 12th, 2020, 3:24 pm
संखुवासभा, २८ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ ।
पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् भने ४ जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् ।
पहिरामा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेका छन् । स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरामा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिएका छन्।
उक्त ठाउमा अहिले पनि पानी परिरहेको छ । दमका बिरामी मदन राईको भने हृदयघात भएर मृत्यु भएको पनि प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् ।
त्यस्तै, ताम्कुबाट पनि नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थलतर्फ लागेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवस्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थल गइरहेका छन् ।