कोरोना परीक्षण शुल्क उठाउने निजी अस्पतालमाथि छानविन सुरु
Sunday, July 12th, 2020, 12:29 pm
काठमाडौं, असार २८ । कोरोनाको पिसिआर परीक्षणका नाममा कानुन विपरित स्वाब संकलन गरी अवैध शुल्क उठाउने निजी अस्पताल छानविनको दायरामा आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता अस्पतालहरुलाई छानविनको दायरामा ल्याउन मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डाक्टर विकास देवकोटालाई जिम्मेवारी दिएको छ । तीन ठूला अस्पतालले कानुनविपरित स्वाब संकलन गरी कोरोना परीक्षणका नाममा अवैध शुल्क असुल्ने गरेको समाचार प्रकाशित गरेको थियो । सो समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकाल, सचिव लक्ष्मण अर्यालसहितको महाशाखा प्रमुखहरुको बैठकले सो महाशाखालाई छानविन गर्ने जिम्मेवारी दिएको हो । आजको बैठकले अवैद्य रुपमा स्वाब संकलन गरी शुल्क असुलेको विषयमा समाचार आएपछि मन्त्रालयले छानविनको जिम्मा दिएको डाक्टर देवकोटाले छानविन गरेर त्यहीअनुसार प्रक्रिया अगाडि बढाउने बताउनुभयो । कानुन विपरित स्वाब कलेक्सन गरेर परीक्षण गर्ने भन्दैं शुल्क उठाउनेहरुमा ग्राण्डी इन्टरनेशल अस्पताल धापासी, ह्याम्स अस्पताल धुम्बाराही र नेपाल मेडिकल कलेज अत्तरखेल रहेका छन् ।