सलहको नयाँ झुण्ड नेपाल आउने सम्भावना बढ्यो, सतर्क रहन सरकारको आग्रह
Saturday, July 11th, 2020, 7:20 pm
काठमाडौं, २७ असार । सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै सतर्क रहन सरकारले आग्रह गरेकाे छ ।
भारतको उत्तर प्रदेशको कानपुर र इटावाको आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु छन् । करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको यी झुण्ड प्लान्ट क्वरिन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना केन्द्रले जनाएको छ ।
हावाको बहावसँगै सलहको झुण्ड पूर्वतर्फ आउने सम्भावना छ, त्यसो भएमा नेपालको धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने प्रक्षेपण गरिएको केन्द्रले जनाएको छ ।
यस्तै राजस्थानको विभिन्न ठाउँमा रहेका विभिन्न झुण्ड पनि दुई/तीन दिनभित्र प्रदेश पाँच र सुदूरपश्चिम प्रदेश हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेको केन्द्रले जनाएको छ ।
सोमबारसम्म पानी पर्ने सम्भावना रहेकोले सलह आइपुग्न केही अवरोध पर्ने देखिए पनि सलह नेपाल प्रवेश गर्ने सम्भावना धेरै रहेको भन्दै केन्द्रले नियमित निगरानी र सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।