‘हाई अलर्ट’ मा बस्न सुरक्षा निकायलाई प्रदेश २ को मुख्यमन्त्री राउतको निर्देशन
Friday, July 10th, 2020, 8:01 pm
असार २६ । मुख्यमन्त्री लालबाबु राउतले बाढी-पहिरोबाट प्रदेश-२ मा हुन सक्ने जोखिम न्यूनीकरणका लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन् ।
जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको ८ वटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।
जोखिम न्यूनीकरणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सुरक्षा निकायहरूले गरेको तयारीबारे मुख्यमन्त्री राउतले जानकारी लिएका थिए । उनले जोखिम न्यूनीकरणका लागि आवश्यक सामग्रीको तत्काल आपूर्ति गर्नसमेत सम्बन्धित मन्त्रालय र निकायहरूलाई निर्देशन दिए ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, जनकपुधाम उपमहानगरका प्रमुख लालकिशोर साह, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिवलगायत प्रदेशका सचिवहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुख तथा प्रतिनिधिहरूसहितको उपस्थिति थियो ।