रुन मिल्दैन र ?
Thursday, July 9th, 2020, 9:32 pm
-सृजना बराल
नरोएको कत्ति भयो ?एक हप्ता ? एक महिना ? एक वर्ष वा कत्ति ?
आज रोईदिनुस् । मन खोलेर रोइदिनुहोस् ।
अप्ठ्याराहरु आयो, मन सम्हाल्न सक्नुभएन । दिल साह्रै भारी भयो । के गर्ने ?
रोईदिनुस् न । दिल खोलेरै । मन हल्का हुने गरी । छेउमा आँशु पुच्छने रुमाल राख्नुहोस् । आफ्ना दुःख सम्झनुहोस् , पीडा सम्झनुहोस् ।
अनी दिल खोलेर रुनुस् । रुदैमा तपाई सानो बन्नुहुन्न, रुदैमा तपाई कमजोर हुनुहुन्छ , भन्ने पनि होईन ।
केटा होस् वा केटी , एक पल्ट मन खोलेर त रुनुहोस् । तपाईलाई आनन्द लाग्नेछ ।
बच्चामा सानो चोट लाग्दा हामी घण्टौंसम्म रुन्थ्यौँ । किन होला ? जाबो , सानो चोट त थियो । तर पनि घण्टौँ रोइदियौँ ।
बाल्यकालमा घरमा कसैले तँलाई भेट्टाएर ल्याएको त, होनी भन्दा पनि घण्टौँ रोएका छौँ । सिरकमुनी लुकेर, घर पछाडि गएर ।
घुक्क…. घुक्क….. गर्दै रोएका छौँ । रुदारुदा कहिलेकाँहि खानै नखाइ भुसुक्कै निदाएका पनि छौँ ।
आज फेरी रोईदिउँ न एकैछिन् । हुन्न ?
उमेर २०, ३०,४०,५० कटिसक्यो, म रुनु हुन्न भन्ने लागेको छ होला हैन ?
बाल्यकालमा आँशु खस्न दिन्थ्यौँ, अनि एकैछिनमा मन हल्का हुन्थ्यो । अहिले आँशु खसाल्दैनौँ । आँखाबाट झर्नुपर्ने आँशु झर्न नपाउँदा मनमा ढिक्का बनेर बसेको, यादै गरेका छैनौँ । त्यसैले त आँशुका ढिक्काले मनलाई भारी बनाएको छ । त्यो भारी विसाउन रोेइदिउँ न हुन्न ?
सानो छदाँ भोक लाग्दा रोइहाल्थ्यौ, कसैले केहि दिएन भने रोइहाल्थ्यौँ । तर आज सहनुलाई नै आफ्नो बहादुरी ठानेका छौँ । कहिलेकाँहि बच्चा बेलामा जस्तै रोइदिउँ न ।
भोक लाग्यो, खप्नै सकिनँ भनेर ।
तपाइँको उमेर र आँशुसँगको सम्बन्ध के ? उमेर बढ्दै गएपनि तपाईको आँशु साह्रो बन्ने हो र ?
कुनै असैह्य भयो, मनमा शान्ति छैन, विछोड भयो, मन आत्तिएको छ यस्तै बेला त हो आँशु काम आउँने ।
बाल्यकालमा अभाव, दवाव, अप्ठ्यारो परिस्थितीमा जसरी रुन्थ्यौँ । एक पटक जुनै उमेरको भएपनि खुलेर रोईदिम् न ।
अझसँगै रोउँ । परिवारसँगै एकैछिन छरछिमेक दगं परुन् ।
डाको हालेर रुइदिम्, घरमा चामल सकियो भन्दै घुक्क…घुक्क गरेर रोइदिम् । साथमा दाम अनी काम छैन भन्दै रोइदिम् । दुनियाँले देख्ने गरी रोइदिम् । अनी फेरि एक अर्काले आफ्नो परिवारको आँशु पुछिदिम्, एकले अर्कोलाई अंगालोमारेर सान्त्वना दिउँ । मनलाई हल्का बनाउ । बरु यसो गरौँ । अल्लोघर पल्लाघरकोलाई पनि ढाकौँ ।
रुन मन लागेको छ भने आउँ मसँगै रोउ । एक्लै नरुनु, भनौँ । अनी अल्लोपल्लो घरका सबै एकैठाउँमा बसेर रोइदिम् ।
सुकुल ओच्छाएर…..पालौँ पालो आफ्नो दुखका, अभावका कुरा भनौँ । अनी ढाँको छोडेर रोइदिम् ।
बरु यसो गरौँ । माइती मावली, घरका मान्छे, बटुवा सबैजना एकै ठाउँमा आँशु झारौँ न ।
.दुनियाँले छि किन रोएको होला भन्लान् नी फेरि हैन ?
त्यत्तिबेला जवाफ दिनु ,के म रुनु हुन्न र ?