खुल्ने भयो छोटो दूरीका सार्वजनिक यातायात
Thursday, July 9th, 2020, 9:12 pm
२५ असार, काठमाडौं । सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइनेछ सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी गराउनुभयो ।
चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ ।
साथै सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपर्नेछ ।
सरकारको यो निर्णयअनुसार लामो दुरीका सार्वजनिक यातायातका साधन अझै सञ्चालन गर्न पाइनेछैन ।
यस्तै ट्याक्सी पनि चलाउन दिने निर्णय भएको छ । चालकबाहेक दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिने निर्णय भएको छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइनेछ ।
यसरी चल्ने ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लाभित्र मात्र चलाउनुपर्नेछ ।
निजी सवारीको हकमा जोरविजोर कायमै छ र, चालक बाहेक दुई जनासम्म यात्रा गर्न सक्नेछन् । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिका राख्न सकिनेछ ।