बन्द कोठा भित्रै फैलन सक्छ कोभिड १९
Wednesday, July 8th, 2020, 3:28 pm
२४ असार, काठमाडौं । कोरोना भाइरस कोभिड १९ बन्द कोठाभित्र १० मिटरभन्दा लामो दुरीसम्म फैलिनसक्ने वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस बोकेका सूक्ष्म थोपा ड्रपलेटहरु बन्द कोठामा १० मिटरभन्दा लामो दूरीसम्म फैलिन सक्छन् । जसको कारण अहिले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले दिएको भौतिक दुरीको नियमले कोरोना भाइरस नियन्त्रण गर्न नसकिने उनीहरुको भनाइ छ ।
विश्वका ३२ मुलुकका २ सय ३९ वैज्ञानिकहरुले डब्ल्यूएचओलाई पत्र लेख्दै यसबारे जानकारी गराएका हुन् । वैज्ञानिकहरुका अनुसार बन्द कोठामा पाँच माइक्रोमिटरभन्दा साना ड्रपलेटहरु १० मिटरभन्दा लामो दुरीसम्म फैलिन सक्छन् । अहिलेसम्म डब्ल्यूएचओले कोरोना भाइरस नियन्त्रणको लागि कम्तीमा एक मिटरको भौतिक दुरी कायम राख्न दिशानिर्देश जारी गर्दै आएको छ ।