अमेरिका र विश्व स्वास्थ्य संगठनको सम्बन्ध तोडियो
Wednesday, July 8th, 2020, 9:22 am
काठमाडौं, एजेन्सि । कोरोना महामारी नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आएको अमेरिकाले अन्ततः विश्व स्वास्थ्य संगठन डब्लुएचओसँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी नियन्त्रण गर्न नसकेको र चीनसँग मिलेको आरोप लगाउँदै डब्लुएचओसँग नाता तोड्ने र उसलाई दिने अनुदान अन्य क्षेत्रमा लगाउने यसअघि नै घोषणा गरेका थिए।
अमेरिकाले डब्लुएचओसँग अलग हुने जानकारीसहित औपचारिक पत्र जुलाई ६ मा पठाएको संयुक्त राष्ट्र संघले पुष्टि गरेको छ। तर यो प्रक्रिया पुरा हुन कम्तीमा एक वर्ष लाग्न सक्ने बताइएको छ।
राष्ट्रपति ट्रम्पको यो निर्णय अमेरिकाका नागरिकको हितमा नरहेको प्रतिक्रिया आएका छन्।
यसअघि ट्रम्पले डब्लुएचओसँग नाता तोड्ने बताएपछि डब्लुएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रियससले संस्थालाई सबैभन्दा बढी अमेरिकाकै मद्दतको जरुरी रहेको बताउँदै त्यसो नगर्न अनुरोध गरेका थिए।