सरिता गिरीको ठाउँमा लिला !
Tuesday, July 7th, 2020, 6:49 pm
२३ असार, काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउएको निर्णय गरेपछि अब लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्नुहुने भएको छ । ललितपुर निवासी सिटौला सरिता गिरी समाजवादी पार्टिबाट पदवाट हटाइएकासँगै सांसद बन्न लाग्नुभएको हो ।
सिरहा निवासी सरिता गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बन्नुभएको थियो । पार्टीको कारवाहीपछि अब उहाँको सांसद पद समाप्तिसँगै बन्दसूचीमा उहाँभन्दा मुनि रहनुभएको लीला सिटौला स्वतः सांसद बन्न पाउने छिन् ।
ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी सिटौला समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुनुहुन्छ ।
यसअघिकै चुनावमा सिटौला सांसदको दाबेदार हुनुहुन्थ्यो ।
पुरुषतर्फ आदिवासी जनजातिको कोटामा राजेन्द्र श्रेष्ठ सांसद बनेका थिए । खस आर्यको कोटामा सरिता गिरी छानिएकी थिइन् । आदिवासी जनजाति महिलामा रेनुका गुरुङ, दलित महिलामा कलुदेवी विश्वकर्मा, मधेसी महिलामा रेणुकुमारी यादव र मुस्लिम महिलामा रुही नाज छानिएका थिए ।
अब सरिता गिरीलाई पार्टीले कारवाही गरेपछि खस आर्य महिलाको कोटा रिक्त हुनेछ । बन्दसूचीमा सिटौलाको नाम सरिता गिरीको मुनि रहेकाले अब उनी सांसद बन्ने निश्चित देखिएको छ ।
निर्वाचन आयोगले रिक्त समानुपातिक सांसदमा बन्दसूचीमा जो पछाडि छ, उही सांसद बन्ने स्पष्ट पारिसकेको छ । यसै साता कांग्रेस सांसद ज्ञानुकुमारी छन्त्यालको निधन भएकोमा आयोगले उनीपछि रहेकी सुवर्ण ज्वारचनलाई सांसद बनाउनुपर्ने स्पष्ट पारेको छ ।