तीस जनसंख्याको देश : रिपब्लिक अफ मोलोसिया !
Friday, August 5th, 2022, 12:51 pm

रिपब्लिक अफ मोलोसिया शासक केभिन बघ । फोटो : एजेन्सी
मनसा कोइराला/काठमाडौं । दुई एकड भूमि, ३० जना जनसंख्याको पनि कुनै देश हुन्छ भन्ने पत्याउन मुश्किल पर्छ तर यो सत्य हो । संसारका केही अनौठा मुलुकहरूमध्ये रिपब्लिक अफ मोलोसिया एक हो । यस मुलुकलाई संयुक्त राष्ट्रसंघ तथा अन्य मुलुकहरूले देशको मान्यता दिएका छैनन्, तर यहाँका मानिसहरू पूर्ण स्वतन्त्रताका साथ आफ्नो जिन्दगी बिताइरहेका छन् । यस्ता स्वघोषित तथा स-साना भूक्षेत्रहरूलाई ‘माइक्रो नेशन’ अर्थात् सूक्ष्म देश भनिन्छ । यस्ता देशहरूसँग आफ्नै सिमाना, बैंकिङ व्यवस्था, सैनिक र कानुन समेत रहने गरेको छ ।

गुगलको ‘माइक्रो नेशन’ नक्सा अनुसार हाल पृथ्वीमा यस्ता सूक्ष्म देशहरूको संख्या ६७ पुगेको छ । त्यसमध्ये पनि सबैभन्दा थोरै जनसङ्ख्या भएको माइक्रोनेसन हो रिपब्लिक अफ मोलोसिया, जहाँ जम्मा ३० जना मात्रै बस्छन् । यस देशमा जम्मा ४ वटा कुकुर छन् र ती कुकुरहरूलाई पनि नागरिकता दिइएको छ । यो देशको कूल क्षेत्रफल जम्मा २.२८ एकड छ । संयुक्त राज्य अमेरिकाको नेवादा राज्यको डेयटेन भ्यालीमा रहेको यस देशको आफ्नै मुद्रा पनि छ, जसको नाम भ्यालोरा हो । बैंक अफ मोलोसिया यस देशको केन्द्रीय बैंक हो । यस देशमा चिपयुक्त सिक्का र नोटसमेत छापिएको छ ।

रिपब्लिक अफ मोलोसियाको मुद्रा ।
यहाँका हालका शासकको नाम केभिन बघ हो । शासक बघको परिवारमा पत्नी र तीन सन्तान छन् । शासक बघले सधैं सैनिक पोषाक लगाउने गर्दछन् र आफ्नो बर्दीमा विभिन्न खालका पदकहरू झुन्ड्याउन गर्दछन् । उनी आफूलाई एक स्वतन्त्र देशको शासक मान्दछन् र यहाँ घुम्न आउने पर्यटकहरूलाई आफैं सिमानामा गएर स्वागत गर्दछन् । रिपब्लिक अफ मोलोसियाले दुई पटक आफ्नो राष्ट्रिय गान परिवर्तन गरिसकेको छ । यो मुलुकको झण्डा नीलो, सेतो र हरियो गरी तिरंगा स्वरुपमा रहेको छ ।