न्यूजिल्याण्डका पूर्व फास्ट बलर हेथ डेभिसद्वारा आफु समलिङ्गी भएको खुलासा
Friday, August 5th, 2022, 11:46 am
रे न्यूज, काठमाडौं । क्रिकेट जगतका धेरै महिला खेलाडीहरु समलिङ्गी भएको सुन्नु भएको होला तर पुरुष क्रिकेटरहरु समलिङ्गी भएको चर्चा कमै हुने गरेको छ । इङ्ल्यान्डका पूर्व विकेटकिपर स्टिभन डेभिसले सन् २०११ को सुरुमा आफू ’गे’ भएको खुलासा गर्नु भएको थियो ।
यसैबिच न्यूजिल्याण्डका पूर्व फास्ट बलर हेथ डेभिसले समेत सार्वजनिकरुपमा आफु समलिङ्गी भएको स्विकार गर्नु भएको छ । डेभिस समलैंगिक रूपमा बाहिर आउने पहिलो न्यूजील्याण्ड र विश्वको दोस्रो पुरुष अन्तर्राष्ट्रिय क्रिकेटर बन्नु भएको छ ।
ईएसपीएनका अनुसार, डेभिस न्यूजील्याण्डले अहिलेसम्म प्राप्त गरेको सबैभन्दा फास्टे बलरको रूपमा चिनिनु हुन्छ । ५० वर्षीय डेभिसले सन् १९९४ देखि १९९७ सम्म ब्ल्याक क्याप्सका लागि पाँच टेस्ट र ११ ओडीआई खेल्नु भएको छ । आफ्नो टेस्ट करियरमा उहाँले पाँच खेलमा १७ विकेट र एकदिवसीयमा ११ विकेट लिनु भएको छ ।
हेथ डेभिसले ३२ वर्षको उमेरमा क्रिकेटबाट संन्यासको घोषणा गर्नु भएको थियो । हाल उहाँ ५० वर्षको हुनु हुन्छ । हाल उहाँ न्यूजिल्याण्डको सट्टा अष्ट्रेलियामा बस्दै आउनु भएको छ । एक पत्रिकासँगको कुराकानीमा उहाँले आफू समलिङ्गी भएको खुलासा गर्नु भएको हो ।
द स्पिन अफ नामको म्यागजिनसं कुरा गर्दै हेथले भन्निु भयो, ‘मलाई यो मेरो जीवनको हिस्सा हो भन्ने लागेको थियो, मैले यसलाई धेरै वर्षसम्म लुकाएर राखेको थिएँ । म समलैंगिक हु भन्ने कुरालाई मेरो जीवनबाट बाहिर राख्न खोज्दै थिएँ ।’
हेथले भन्नु भयो ,‘अकल्यान्डमा लगभग सबैलाई थाहा थियो कि म समलैंगिक हुँ । र टोलीका मानिसहरूलाई पनि थाहा थियो । यो कसैको लागि ठूलो समस्या थिएन र मैले आफूलाई स्वतन्त्र पनि ठान्थे । तर अब जब मलाई यो मेरो जीवनको एक हिस्सा हो जस्तो लाग्छ, तब मैले यसबारे खुलेर बताउनै पर्छ । हेथ आफ्नो जन्मभूमि सहर वेलिंगटन छोडेर अकल्याण्ड जानु भएको थियो ।
वर्तमानमा महिला समलिङ्गी क्रिकेटरहरूमा मेगन शुट, डेन भान निकेर्क जस्ता धेरै नामहरू छन् । यद्यपी पुरुष समलिङ्गी क्रिकेटरहरु भने खास खुलेर आएको पाइैदैन ।