प्राकृतिक सम्पदाले भरिपूर्ण चुरे दोहनले सिर्जित रोदन
Sunday, July 31st, 2022, 2:10 pm
-मनसा कोइराला/काठमाडौं । नेपालको तराई-मधेस क्षेत्रका वसिन्दाले दैनिक उपभोगमा ल्याउने स्रोत र साधनको खानी हो चुरे पहाड । यस्तो महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको चुरेमा ढुंगा, गिट्टी र जंगलको दोहनले यहाँको पानीको स्रोत सुक्ने, पहिरोको सम्भावना बढ्ने र जैविक विविधतामा ह्रास आउने जस्ता समस्या देखापरेका छन् ।
नेपाललाई तराई, चुरे-भावर, पहाडी, हिमाली र भोट प्रदेश गरी पाँच वातावरणीय एकाइमा विभाजन गरिएको छ । समुद्री सतहदेखि करिब १२०० मिटरदेखि २००० मिटरसम्मको उचाइमा रहेको पूर्व-पश्चिम फैलिएको सबैभन्दा दक्षिणतर्फको कान्छो पर्वत नै चुरे हो । यसलाई सिवालिक क्षेत्र पनि भनिन्छ । नेपालको कुल भू-भागको १२.७८ प्रतिशत ओगटेको चुरे क्षेत्रले नेपालका २९ वटा जिल्लालाई छोएको छ । यी जिल्लाहरूमा ६० प्रतिशत जनसंख्या रहेका छन् । यस क्षेत्रभित्र विभिन्न सिमसारहरू, अनेकौं सांस्कृतिक धरोहरहरू, राष्ट्रिय निकुञ्ज तथा ऐतिहासिक क्षेत्रहरू समेत रहेका छन् ।
रामसारसाइटमा उल्लेख भएका नेपालका १० वटा सिमसारमध्ये कोशी टप्पु, बीस हजारी ताल, घोडाघोडी ताल, जगदीशपुर जलासय यही क्षेत्रमा पर्दछन् । रामसारसाइटमा उल्लेख नभएका अन्य धेरै तालहरू तथा प्राकृतिक सम्पदाहरू पनि यस क्षेत्रमा छन् । सिमसार क्षेत्रलाई पानीलाई सफा गर्ने, जलजीवका वासस्थान, उभयचरका प्रजनन् केन्द्र र चराहरूले रुचाएका क्रीडास्थलको रूपमा चिनिन्छ । चुरेका पहाडहरूले सतहको पानीको बहावलाई नियमन गर्ने र भूमिगत पानी रिचार्ज गर्ने जस्ता महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालका सबै प्रमुख नदी प्रणालीहरू यही चुरे पहाड भएर बग्ने गर्छन् । चुरे पर्वतको कुल क्षेत्रफलको ७२.३७ प्रतिशत भू-भाग जङ्गलले ओगटेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षण, चितवन राष्ट्रिय निकुञ्ज सौराहा, पर्सा राष्ट्रिय निकुन्ज, सुक्लाफाँट राष्ट्रिय निकुन्ज चुरे पर्वतमा नै पर्दछन् ।
कमलो माटो र चट्टानहरूबाट बनेको चुरे पहाड पिउने पानी, सिंचाई, इन्धन, काठ, निर्माण सामग्री, वनस्पति, जडीबुटी, जीवजन्तु आदिको मुख्य स्रोत रहेको चुरे पहाड तराईमा बसोबास गर्दै आएका वासिन्दाको लागि वरदान सावित भएको छ । नेपालको तराई-मधेस क्षेत्रलाई देशको ‘चामलको टोकरी’ उपनामले पनि चिनिन्छ, जसमा देशको अधिकांश कृषि उत्पादन हुन्छ । यस्तो महत्वपूर्ण भूमिका निर्वाह गरेको चुरेमा ढुंगा, गिट्टी र जंगलको दोहनले जैविक विविधतामा ह्रास, पहिरोको उच्च सम्भावना, तराइको पानीको स्रोत सुक्ने समस्याहरू देखापरिसकेका छन् ।
२०७७ सालको सुख्खा हिउँदमा देखिएको वन डढेलोलाई आजसम्मकै सबैभन्दा धेरै फैलिएको र विनाशकारी वन डढेलो भनिएको छ । यस डढेलले धेरै बालीनाली र जनधनको नाश गरेको थियो । बेलाबेलामा आउने गरेको पहिरो चुरेको अर्को समस्या हो । चुरेका कतिपय ठाउँमा गहिरो अध्ययन-अनुसन्धान नगरी पुराना पहिरोहरूलाई काट्दै बनाइएका सडकका संरचनाहरू छन् । त्यस्तो ठाउँमा पुनः पहिरो जाने अवस्थाहरू सृजना भइरहेको छ ।
चुरे क्षेत्रमा वन विनाश, भूक्षय र पहिरोको कारण खेतीयोग्य भूमि घट्दै छ । त्यस्तै चुरेका विभिन्न ठाउँमा नदी कटान गरिएकाले नदीनालाले बाटो परिवर्तन गरेका छन् जसले गर्दा अचानक बाढी आएर उर्वर खेतहरू बगरमा परिणत भएका उदाहरणहरू प्रशस्तै छन् । यसले गर्दा वर्षामा आधारित कृषिमा निर्भर स्थानीय गरीब जनता र किसानको जीविकोपार्जनमा निकै असर परेको देखिन्छ ।
चुरे नदीमा जम्मा भएको गिट्टी, ढुङ्गा र बालुवाको लुकिछिपी र अवैध तरिकाले गरेको दोहनले तराईका नदीहरूको सतह बढेर उल्टो असर पर्न सक्ने विज्ञहरू बताउँछन् । खानीजन्य तथा नदीजन्य पदार्थको प्रचूर मात्रामा अवैज्ञानिक ढङ्गले गरिको उत्खनननले तराईमा मरुभूमीकरण हुने, उत्पादकत्व घट्ने, पर्यावरणमा असन्तुलन पैदा हुने र धेरै प्राकृतिक पारिस्थितिक प्रणालीहरूको अस्तित्व अन्त्य हुन सक्ने दाबी बिभिन्न अनुसन्धानकर्ताहरूले गरेका छन् ।
दिनप्रतिदिन चुरे क्षेत्रको पानीको सतह घट्दै गएको छ । यस क्षेत्रको पानीको सतह ५-६ मिटरबाट २५-३० मिटरसम्म तल झरेको छ । जनकपुर, नवलपरासी, सप्तरी, सिराहा र सर्लाहीका विभिन्न स्थानका जनताले पानीको अभावको सामना गरिरहेका छन् । यी क्षेत्रमा चुरेको दोहन पनि तीव्र छ । यस क्षेत्रमा १९७० को दशकदेखि बाढीका घटनाहरू उल्लेखनीय रूपमा बढेका छन् । आंशिक रूपमा वर्षाको ढाँचामा परिवर्तन भएका कारण बाढी आउने दर अझै बढ्ने अनुमान गरिएको छ र भविष्यमा चुरे क्षेत्रमा बाढीका घटनाहरूले यहाँको वासिन्दालाई निकै असर पार्ने देखिएको छ ।
चुरे संरक्षण पुरानै मुद्दा हो । चुरे संरक्षणको लागि विभिन्न पहलहरू नभएको भने होइन । विश्व वन्यजन्तु कोषले ‘तराई आर्क’ अन्तर्गत वन्यजन्तुको आवत-जावतको लागि करिडोर सुनिश्चितामा सहयोग, जर्मनी संस्था जिटिजेडले वन विकासको माध्यमबाट चुरे जोगाउने कार्यमा सहयोग गरेको थियो भने केयर नेपालले पूर्वी नेपालको चुरेमा काम गरिरहेको छ । यस्ता अन्य धेरै संस्थाहरू छन् जसले चुरे संरक्षणमा काम गरिरहेका छन् । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकै सदिच्छा बमोजिम राष्ट्रपति चुरे संरक्षण समिति गठन गरी सो समिति मार्फत २०६७ सालदेखि संरक्षणका कामहरू हुन थालेका छन् । बजेट विनियोजन गरेर तत्कालीन समयमा धेरै प्रयासहरू शुरू भए । यसको संरक्षणमा गणतन्त्र आएपछि मात्र दशौं अर्ब खर्च भइसकेको छ तर चाहना मुताविक काम हुन सकेको छैन बरु लुकिछिपी चुरे दोहन जारी छ ।
‘हिमालय पर्वतको कान्छो भाइ’ भनेर पनि चिनिने चुरेको संरक्षणमा भएका कामहरूको राम्रोसँग अध्ययन, अनुसन्धान र विश्लेषण गरेर विगतमा भएका कमजोरीहरूलाई हटाउँदै वैज्ञानिक उत्खनन् र संरक्षणको कार्यलाई एक साथ लैजान जरुरी देखिएको छ । यसको संरक्षणमा स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारहरूले स्पष्ट नीतिहरू बनाउनु अनिवार्य देखिन्छ भने आम नागरिक एवम् सरोकारवालाहरू सबै सचेत हुनु उत्तिकै जरुरी छ ।