वैज्ञानिकलाई पनि चकित बनाइरहेको युरोपको गर्मी
Sunday, July 31st, 2022, 1:04 pm
-मनसा कोइराला/काठमाडौं । अहिले बेलायत लगायत पश्चिमी युरोपका विभिन्न देशमा तातो हावा चल्दा त्यहाँका वासिन्दा चरम गर्मीको चपेटामा परेका छन् । यो वर्षको तातो लहरले पुर्याएको असर विगतमा जलवायु परिवर्तनबाट सिर्जित असरभन्दा १० गुणा बढी भएको अनुमान गरिएको छ । यद्यपि अहिले युरोपका विभिन्न देशहरूले भोगेका चर्को गर्मीको कारणहरूमध्ये जलवायु परिवर्तन मुख्य कारण भएको बिज्ञहरूको दाबी छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनको प्रभाव पूर्वानुमान गर्नमा प्रयोग गरेको उपकरणहरूमा सीमितता भएको पुष्टि भएको छ । जसले गर्दा जलवायु परिवर्तन हुनुमा मानिसहरूको भूमिका कस्तो छ भन्ने कुराको एकिन तथ्यांक आउन सकेको छैन ।
युरोपमा मात्र हैन केही वर्षादेखि विश्वव्यापी रूपमै तातो लहरहरू लगातार बढ्दै गइरहेको छ । यस्तो किसिमको चरम गर्मी किन भयो र यसले पृथ्वीमा कस्तो असर परिरहेको छ भन्ने अनुसन्धान गर्न वैज्ञानिकहरूले जलवायु मोडेल र सिमुलेशन (विगतका तथ्यांकका आधारमा भविष्यको अनुमान गरिने विधि)हरूको संयोजन प्रयोग गरेका छन् । उनीहरूले प्रयोग गरेका मोडेलहरूले निकालेको निष्कर्षभन्दा यो वर्षको गर्मी धेरैले बढेको देखियो ।
पृथ्वीको तापक्रम मानव गतिविधिले नबढेको भए आज पृथ्वीको सतहमा बहेको तातो हावा ४ डिग्री सेल्सियसले कम हुने अनुमान विभिन्न मौसम अभिलेखहरूमा उल्लेख छन् । तर, वैज्ञानिकहरूले प्रयोग गरेका मोडेलहरूमा हरितगृह ग्यास उत्सर्जनले पृथ्वीको सतहको तापक्रम २ डिग्री सेल्सियसले बढेको अनुमान गरेर अनुसन्धान गरेका छन् । विश्व मौसम विशेषता परियोजनाले गरेको ‘वैज्ञानिकहरूले मानव-कारण जलवायु परिवर्तनको वास्तविक प्रभाव’ अध्ययनले निकालेको निष्कर्षमा वैज्ञानिकहरूले प्रयोग गरेका जलवायु मोडेलहरूले वास्तविक प्रभावलाई कम आँकलन गरेको अनुमान गरिएको छ ।
चरम गर्मीमा मानव प्रभाव निर्धारण गर्न, वैज्ञानिकहरूले प्रयोग गरेका मोडेल र सिमुलेशनहरूले निकालेको निष्कर्षभन्दा बेलायत लगायत पश्चिमी युरोपमा तापक्रम धेरैले बढेको देखियो ।
गत हप्ता बेलायतको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । जुलाई १९ को तापक्रम अहिलेसम्मको नै उच्च थियो । बेलायती सरकारले राजधानी लण्डनलगायत अन्य धेरै भागहरूमा पहिलो पटक अत्यधिक गर्मीको चेतावनी जारी गरेको थियो । तापक्रम बढ्दै जाँदा देशको पूर्वाधार ध्वस्त भयो । रेलका लिकको आकार बिग्रियो, एयरपोर्ट रनवे पग्लियो, आगलागी फैलिएर जनताको ज्यान जोखिममा पर्यो । यसले गर्दा केही विद्यालयहरू बन्द गरिएका थिए र मानिसहरूलाई घरबाटै काम गर्न सल्लाह दिइएको थियो ।
इम्पेरियल कलेज लन्डनको ग्रान्थम इन्स्टिच्युट फर क्लाइमेट चेन्जका वैज्ञानिक बैफ्रेडरिक ओटोले युरोप र विश्वका अन्य भागहरूमा तातो हावाका लहरहरूले कीर्तिमान कायम गरेको छ जुन धेरैजसो जलवायु मोडेलहरूले अनुमान गरेको भन्दा छिटो तातो भएको कुरा जानकारी दिनुभयो । उहाँले यदि कार्बन उत्सर्जनलाई द्रूत रूपमा घटाइएन भने युरोपमा गर्मी अझै बढ्न सक्ने बताउनु भएको छ ।
पृथ्वी पहिला नै औशतमा हुनु पर्नेभन्दा १.२ डिग्री सेल्सियसले गर्मी भएको छ । मानिसहरूले औशत तापक्रम १.५ डिग्रीभन्दा बढी न्यानो राख्न नहुने र न्यानो भएको खण्डमा पृथ्वीले आफ्नो पारिस्थितिक सन्तुलनको लागि भर परेको केही इकोसिस्टमहरूमा हानि पुर्याउने कुरा विभिन्न अनुसन्धानले देखाएका छन् ।
बेलायतले अहिले अनुभव गरिरहेको गर्मीको स्तर खतरनाक छ । यसले त्यहाँको पूर्वाधार, अर्थतन्त्र, खाना र शिक्षा प्रणालीमा ठूलो असर पारेको छ । बेलायतका धेरै घरहरू अत्यधिक गर्मीमा बस्न नसक्ने भएका छन् र त्यहाँका मानिसहरूको सुरक्षा गर्नु बेलायत सरकारका लागि तत्कालको प्राथमिकता हुन आएको छ । आगामी केही वर्षहरूमा बेलायत लगायत पश्चिमी युरोपका अन्य देशहरूमा ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम फेरि देखा पर्ने सम्भावना रहेको र हरितगृह ग्यास उत्सर्जनमा कटौती गरेर मात्र यस्तो चरम गर्मीको जोखिमलाई कम गर्न सकिने विचार वैज्ञानिक पिटर स्टोटले राख्नु भएको छ । (सीएनएनबाट साभार)