बन्चरे डाँडामा फोहोर फाल्न स्थानीय वासिन्दाको फेरि अवरोध
Thursday, July 28th, 2022, 4:53 pm
-मनसा कोइराला/काठमाडौं । वर्षाका कारण बाटो बिग्रिएर गाडी जान नसकेपछि एक हप्ताका लागि ल्यान्डफिल्ड साइट बन्दपछि खुलेको पहिलो दिन नै स्थानीय वासिन्दाले फेरि काठमाडौँको फोहोर रोकेका छन् ।
बिहीबार उपत्यकाबाट फोहोर बोकेका गाडी ल्यान्डफिल्ड साइटतिर गएकामा बन्चरेडाँडाका स्थानीयवासीले माग पूरा नभएसम्मका लागि फेरि रोकेका छन् । गत हप्ता सिसडोलबाट बञ्चरेडाँडासम्मको सडक मर्मत गर्नुपर्ने भएको कारणले एक हप्तादेखि रोकिएको फोहोर आजबाट अन्तिम विसर्जनका लागि लगिएको थियो । सडक मर्मतको काम पूरा नगरी फोहर लान थालिएको र फोहर बोक्ने गाडीमा फोहरको लेदो रहने भाडो व्यवस्था नगरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरेका छन् ।
ककनी गाउँ पालिका वडा नंबर २ का अध्यक्ष तीलक तमाङले १८ बुँदे सहमति अनुसरको काम नभएको, फोहोर ढुवानी गर्ने साधनले फोहरको लेदोको उचित व्यवस्थापन नगरेको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरेको कुरा रे न्यूजलाई डेलिलाई जानकारी दिनु भयो ।
स्थानीय स्थानीयवासीको अवरोधका कारण फोहरका गाडी सिडोल र बन्चरेडाँडाका बीचमा लामबद्ध भएर बसेका छन् । आठ दिनपछि आज उपत्यकाबाट करिब ६० गाडी फोहर बोकेर गए पनि स्थानीयवासीको अवरोधका कारण फोहरको व्यवस्थापन हुन सकेको छैन ।
सरकारले सन १९९५ मा नुवाकोटको बन्चरेडाँडा, ओखरपौवामा छनोट गरेको ल्यान्डफिल साइटको निर्माण हालै सम्पन्न भएको छ । यो ल्याण्डफिल साइटले काठमाण्डौं र ललितपुर महानगरपालिका सहित उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर उक्त ल्याण्डफिल साइटमा बिसर्जन गर्न थालेको छ । तर हालै सञ्चालनमा आएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा स्थानीय बासिन्दाले बेलाबेला मा फोहर बिसर्जन गर्न अबरुद्ध गर्दै आएका छन् । त्यहाँका बासिन्दाले ल्यान्डफिल साइटबाट प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर्नुपर्ने, बाटो समयमा बन्नु पर्ने, शिक्षा, स्वास्थ, रोजगारको, शिक्षा, स्वास्थ, रोजगारको सुनिस्चता जस्ता माग राख्दै सो ल्याण्डफिल्ड साईटमा धर्ना दिदैं आएका छन् । शहरी विकास मन्त्रालयले सञ्चालन गरेको बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न थालेपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।
बन्चरेडाँडा फोहर व्यवस्थापन सरोकार समितिले प्रभावित क्षेत्रमा पर्ने गाउँ र जग्गा अधिग्रहण सरकारले गर्नुपर्ने र पीडितलाई सुरक्षित स्थानमा सार्नुपर्ने, त्यहाँका बासिन्दाको शिक्षा र स्वस्थको जिम्मेबारी लिनु पर्ने जस्ता मागहरु राखेर बन्चरेडाँडाको ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न अबरुद्द गरेका थिए ।
गत जेठ २७ मा काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडा वासीबीच फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भएको थियो । उक्त सहमतिपत्रमा रातिका लागि आवश्यक पूर्वाधार, बत्ती तथा बाटो निर्माण ३ महिनाभित्र गर्ने, सिसडोल र बन्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिचेट नचुहिने व्यवस्था मिलाउने, वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्रको अधिग्रहण र मुआब्जा वितरण गर्ने, फोहोर व्यवस्थापनमा संलग्न कर्मचारिको स्वास्थ्य बीमा गर्नुपर्ने, फोहरलाई स्रोतमा वर्गीकरण गर्ने जिम्मेबारी महनगरपालिकाले लिने र बाटो निर्माण तथा पहिरो नियन्त्रणको काम गर्ने कुराहरुको सहमति भएको थियो । उक्त सहमति भएपछि उपत्यकाको फोहोर बन्चरेडाँडामा बिसर्जन गर्न थालिएको थियो ।