नेकपा विवाद: ओली र प्रचण्डबीच ‘वान टु वान’ छलफल
Friday, July 3rd, 2020, 4:25 pm
काठमाडौं, असार १९ । पार्टीभित्र देखिएको समस्या समाधान गरी पार्टीलाई एकताबद्ध राख्न नेपाल कम्युनिष्ट पार्टी, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले छलफल भइरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनहरू एक्ला एक्लै छलफल गरिरहेका छन् । नेकपा स्थायी समितिको मङ्गलवार बसेको बैठक निर्धारित कार्यसूचीभन्दा भिन्न, असार १४ गते मदन जयन्ती कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन विभिन्न शक्तिहरू लागेको भनी दिएको अभिव्यक्तिमा केन्द्रित भएपछि विवाद देखिँदै आएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले हिजो साँझ ५ः०० बजेदेखि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेपछि स्थायी समिति बैठकले नयाँ मोड लिएको छ । बिहीबार साँझ केही बेर मात्र बसेको स्थायी समिति बैठकमा नेताहरूले पार्टीको विवाद समाधान गर्न अध्यक्ष द्वयलाई जिम्मा दिएपछि आज दुवै अध्यक्षबीच छलफल भइरहेको हो ।
यसैबिच, पार्टी विवाद नचर्काउन र पार्टी विभाजन हुन नदिन नेकपाका दोस्रो तहका नेताहरू सक्रिय भएका छन् । आज बिहान मन्त्रिनिवास पुलचोकमा दोस्रो तहका नेताहरूबिच छलफल भएको हो ।