नेविसंघका नेताप्रति रिसाउँदै सभापति देउवाले भने, ‘पहिला जितेर आउ अनि मसँग झगडिनु’
Friday, July 3rd, 2020, 4:22 pm
काठमाडौं, असार १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्त्वप्रति आक्रोशित भएका छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६र्औ जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका हुन् ।
उनले नेविसंघले गाउँगाउँमा, स्कुल स्कुलमा नेविसंघ बनाउन नसक्ने तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरे ।
अहिले गाउँ ठाउँ स्कुल कतैपनि नेविसंघ नरहेको र कुनैपनि स्कुलमा जित्ने हैसियत नेविसंघले नराखेको भन्दै आक्रोशित भए । पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफूसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरूलाई निर्देशन दिए ।
‘राम्रोसँग गर्नुस्, नेविसंघलाई बलियो बनाउनुस् । गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस् । जहाँ पनि हारेको हारेकै छ नेविसघं लाज पनि छैन् । हामी सबैठाउँमा जितेका थियौं । निविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कही पनि नेविसंघ देखिँदैन । गाउँ स्कुलमा जबसम्म नेविसंघ हुँदैन तबसम्म कहिल्यै पार्टी बलियो हुँदैन । त्यही नेविसंघ त हो नी पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने । कहिले सभापतिलाई भनेँ ।’
‘स्कुलमा नेविसंघ बनाउँदै बनाउँदैन् । अनि हारेको हारेकै छ । सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ । कसरी जिते कम्युनिष्टहरू । उनीहरुले गाउँगाउँमा बनाए । काठमाडौंमा आएर बर्ताबर्ता भाषण गरेर केही हुने वाला छैन । गाउँमा जाउ गाउँमा । गाउँमा बनाउ, गाउँको स्कुलमा बनाउ नेविसंघ अनिमात्र झगडा गर्न आऊ । केही नगर्ने मसित कुरा गर्ने ?,’ उनले भने ।