गुल्मीमा पहिरो: १८ महिने बालकको ज्यान गयो, अन्य दुईजना बेपत्ता
Friday, July 3rd, 2020, 8:49 am
गुल्मी, असार १९ । गुल्मीमा पहिरोका कारण १८ महिने बालकको मृत्यु भएको छ । पहिरोका कारण इस्मा गाउँपालिका— १ हस्तिचौरका बसन्त सारुका १८ महिनाका छोरा सिजन सारु मृत फेला परेका हुन् ।
इस्मा गाउँपालिका–१ का वडा सदस्य जंगबहादुर खत्रीका अनुसार घरमाथिबाट एक्कासी आएका पहिरोले बंगालो बगाएपछि बालक पहिरोमा परेका हुन् । पहिरो खस्दा परिवारका अन्य सदस्य भने भाग्न सफल भएका थिए ।
यसैगरी सो पहिरोका कारण दुईजना बेपत्ता भएका छन् भने चार जना गम्भीर घाइते भएका छन् । त्यस्तै पहिरोले हस्तिचौर रिखबहादुर खत्रीको घर बगाएको छ । पहिरोमा पुरिएर खत्रीकी छोरी ७ वर्षीया अपेक्षा खत्री बेपत्ता भएकी छन् ।
पहिरोले पुरिएकी श्रीमती ईश्वरा खत्रीको जिवितै उद्धार गरिएको छ । तर अवस्था गम्भीर भएको वडा सदस्य खत्रीले बताए । पहिरोमा खत्रीको हजुर आमा पुतला खत्री, बुबा टीका खत्री र आमा घाइते छन् ।
त्यस्तै मुसिकोट नगरपालिका–२ का भगिरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् । रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता नलागेको वडाध्यक्ष लक्ष्मण खत्रीले बताए ।
पहिरोले गाउँ–गाउँबिचकै सम्पर्क बिच्छेद भएको र अन्य मूल सडकसमेत अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।