फेयर एण्ड लभ्ली’को नाम परिवर्तन हुदै
Thursday, July 2nd, 2020, 6:48 pm
एजेन्सी, असार १८ । छाला गोरो बनाउने क्रीम फेयर एन्ड लवली बनाउने कम्पनी युनिलिभरले यसको नाम बदल्ने भएको छ । बीबीसीमा जनाए अनुसार फेयर एन्ड लवलीले नकारात्मक स्टीरियोटाइपलाई बढावा दिएको भन्दै आलोचना गरिएको हुदा युनिलिभरले एक बयान जारी गर्दै अबको केहि हप्तामा ‘फेयर एण्ड लभ्ली’ ब्रान्डको नाम परिवर्तन गर्ने जानकारी दिएको छ ।
अमेरिकामा जर्ज फ्लोयडको मृत्युपछि सुरु भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानका कारण केहि हप्तादेखि ‘रङ्गभेद’ लाई प्रोत्साहन दिएको भन्दै ‘फेयर एण्ड लभ्ली’ ब्रान्डले कडा आलोचना खेप्नु परेको थियो । युनिलिभरको ब्यूटी एण्ड पर्सनल केयर डिभिजनका प्रेसिडेन्ट सन्नी जैनले जनाए अनुसार स्किन केयर ब्रान्डको ग्लोबल पोर्टफोलियोका विषयमा पूर्ण रुपमा समर्पित भएका कारण क्रिमले सबै रङ र प्रकारको स्किन टोन्सलाई ध्यानमा राख्ने छ ।
‘फेयर’, ‘ह्वाइट’ र ‘लाइट’ जस्ता शव्दहरूको प्रयोगले सुन्दरताको एकल आदर्शलाई सुझाव दिने हुदा यो सहि नभएकाले कम्पनीले आफ्नो उत्पादनमा गोरो वा गोरोपनजस्ता शब्दको प्रयोगसमेत नगर्ने बताएको छ । युनिलिभरले उनिहरूको ब्रान्ड कहिले पनि ब्लीच गर्ने उत्पादन नभएको बताएको छ ।
फेयर एण्ड लभ्ली ब्रान्ड भारतबाहेक बंगलादेश, इन्डोनेशिया, थाइल्याण्ड, पाकिस्तान लगायत अन्य एशियाली देशहरूमा पनि बेचिदै आएको छ ।