‘सूर्यवंशी’ र ‘८३’ को रिलिज मिति सार्वजनिक
Thursday, July 2nd, 2020, 5:29 pm
काठमाडौं, असार १८ । कोरोना भाइरसको महामारीका कारण बलिउडका कयौं ठूला फिल्महरूले रिलिज मिति स्थगीत गरेर ओटीटी प्लेटफर्ममा रिलिज गरिरहेका छन् । तर, लकडाउन खुलेपछि प्रदर्शनमा आउने आधिकारिक मितिको घोषणा गरेको ‘सूर्यवंशी’ र ‘८३’ बलिउडको पहिलो फिल्म बनेको छ । लकडाउनका कारण हलमा रिलिज हुन नपाएपछि रोहित शेट्टी निर्देशित ‘सूर्यवंशी’ हलमा नभइ ओटीटी प्लेटफर्ममा रिलिज हुने हल्ला थियो ।
मार्चमा रिलिज मिति तय गरेको अभिनेता अक्षय कुमार, र कटरीना कैफको ‘सूर्यवंशी’ दिपावलीमा फिल्म रिलिज गर्ने रोहितले घोषणा गरेका छन् । पुलिसको कथामा आधारित रहेको फिल्ममा अजय देवगन र रणवीर सिंहको अतिथी भूमिका रहेको छ । फिल्म ‘८३’को पनि नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ ।
अप्रिलमा रिलिज मिति तय गरेको अभिनेता रणवीर सिंह र दीपीका पादुकोणको मुख्य भुमिका रहने फिल्म अब यस वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । कविर खानको निर्देशनमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवको भुमिकामा रणवीर र उनकी पत्नीको भुमिकामा दीपीका रहेका छन् ।