एसईईको अंक पठाउँदा तीन वर्षको परीक्षाफल हेर्न निजी विद्यालयलाई निर्देशन
Wednesday, July 1st, 2020, 8:51 pm
१७ असार, काठमाडौं । निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाले माध्यमिक शिक्षा परीक्षा एसईईको मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एनप्याब्सनले बुधबार संयुक्त रुपमा आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो आग्रह गरेका हुन् ।
प्याब्सनका महासचिव कुमार घिमिरे र एनप्याब्सनका महासचिव सुवास न्यौपानेद्वारा जारी विज्ञप्तिमा नतिजाको सम्बन्धमा अनावश्यक प्रचारप्रसार नगर्न समेत निर्देशन दिइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रमाणीकरण गरी प्रकाशित नगरुन्जेल अपनाउनुपर्ने गोपनीयता कायम गर्नुपर्ने निर्देशन छ । ‘विद्यार्थीहरूको आन्तरिक मूल्यांकन गर्दा स्वतन्त्र र निष्पक्षताको सिद्धान्त अपनाई विद्यार्थीहरूको सही मूल्यांकन गर्ने र विद्यालयले गरेको मूल्यांकन प्रमाणित आधारहरू अभिलेख राख्ने’ विज्ञप्तिमा भनिएको छ ।