लगातार दोस्रो जितको खोजिमा नेपाल
Saturday, June 18th, 2022, 7:13 am
काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज शनिबार आफ्नो दोस्रो खेलमा कुवेतसंग खेल्दैछ । मलेसियाको किनरारा मैदानमा खेलिने नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार १२ः४५ बजे सुरु हुनेछ ।
आफ्नो पहिलो खेलमा भुटानलाई ५० रनले पराजित गर्दै सानदार सुरुवात गरेको नेपाल लगातार दोस्रो जितको खोजिमा मैदान उत्रनेछ । कुवेत भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । कुवेत र बहराइनबीचको खेल वर्षाले नतिजा विहीन बनेको थियो ।
पहिलो खेलमा जित हात परेको नेपाल २ अंक सिहत समूह ’बी’ को शिर्ष स्थानमा छ ।च्याम्पियनसिपमा सहभागि १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ’ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।