निर्वाचन आयोगमा एमाले पार्टिको दर्ताको लागि निवेदन
Tuesday, June 30th, 2020, 8:19 pm
काठमाडौं, मंगलबार १६ । निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ ।
तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ ।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको विषयमा छलफल भएको बताउनुभयो । बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न उठाएका थिए । श्रेष्ठका अनुसार सो विषयमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै आफू जानकार नरहेको जवाफ दिनुभएको थियो ।
विराटनगरकी सन्ध्या तिवारीको नाममा पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको छ ।
आजको बैठकमा यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको छ ।
आजको बैठकमा एमालेको नाममा पार्टी दर्ता र प्रधानमन्त्रीले सरकार ढाल्न भारतको हाल रहेको भन्ने अभिव्यक्तिका विषयमा छलफल भएको भन्दै मुल एजेण्डामा प्रवेश नगरिएको बताए । आजको बैठकमा प्रचण्डसहित १२ नेताले आफ्नो धारणा राखेको श्रेष्ठले जानकारी दिनुभयो ।