भारतको पहिलो कोरोना भाइरस खोपको मानिसमा परीक्षण हुदै
Tuesday, June 30th, 2020, 5:01 pm
नयाँदिल्ली, १६ असार । भारत विश्वको सबैभन्दा ठूलो जेनेरिक औषधि र खोप उत्पादकहरू मध्ये एक देश हो । पोलियो, मेनिन्जाइटिस, निमोनिया, रोटाभाइरस, बीसीजी, दादुरा र रुबेला जस्ता धेरै महत्वपूर्ण खोपहरू निर्माण गरिसकेको भारतमा कोरोना भाइरसका आधा दर्जन जति खोप तयार भएरहेको छ । यस्तैमा भारतको पहिलो कोरोना भाइरस खोपको मानिसमा परीक्षण हुने भएको छ ।
भारत बायोटेक नामक भारतको एक फार्मास्यूटिकल कम्पनीले विकसित गरेको खोप भारतमा जुलाईमा मानिसमा परीक्षण हुने भएको हो । भारतीय राष्ट्रिय विषाणु संस्थान र भारतीय चिकित्सा अनुसन्धान परिषदको सहयोगमा भारतमा विकसित गरिएको यो खोपलाई ‘कोभाक्सिन’ नाम दिइएको कम्पनीका अध्यक्ष डा. कृष्ण इलाका बताउछन् ।
जनावरहरूमा भएको परीक्षणमा कोभाक्सिनको नतिजा उत्साहजनक र सुरक्षित रहेको हुदा कम्पनीले छिट्टै नै मानिसमा कोभाक्सिन परीक्षण सुरु गर्न लागेको दावी गरेको छ । कम्पनीले कति स्वयम्सेवकहरूलाई खोप दिइ लागेको कुरा भने बताएको छैन । भरत बायोटेकले जारी गरेको एक प्रेस विज्ञप्तिमा भारतमा लागूपदार्थ नियामक निकायले भारत बायोटेकलाई मानिसमा पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणहरू गर्न अनुमति दिएको बताइएको छ ।
कम्पनीका अनुसार भ्याक्सिन दुई चरणमा परीक्षण गर्नुपर्ने हुन्छ । खोप सुरक्षित छ कि छैन र यसको कत्तिको राम्रो प्रभाव देखाउछ भनेर बुझ्नका लागी मानिसमा परीक्षण हुने भएको छ ।