महामारीको खराब अवस्था आउन बाँकी छः डब्लुएचओ
Tuesday, June 30th, 2020, 4:58 pm
काठमान्डौ, असार १६ । ६ महिना अघि मात्र फैलिएको संक्रमणका कारण हालसम्म विश्वभरि १ करोड बढि कोरोना भाइरस संक्रमित भएका छन् । संक्रमित मध्ये ५ लाख मानिसहरूले ज्यान गुमाइसकेका छन् । धेरै देशहरूमा स्वास्थ्य प्रणालीहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने महामारीको कारणले विश्वव्यापी अर्थतन्त्र एकदम खराब चरणबाट गुज्रिरहेको छ ।
तर, कोरोना भाइरस महामारीको अझ खराब अवस्था आउन बाँकी नै रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । सोमबार भर्चुअल ब्रीफिंगका क्रममा डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले अझैसम्म पनि महामारीको खराब स्बरुप अगाडि नआएको चेतावनी दिएका हुन् ।
विश्वभरका सरकारले कोभिड १९ नियन्त्रणका लागि सही नीति नअपनाएमा कोरोना भाइरसले अझै धेरै मानिसहरूलाई संक्रमित गर्न सक्छ । धेरै देशहरूले केही प्रगति गरेपनि विश्वव्यापी रुपमा महामारीले आफ्नो गति निरन्तर बढाइरहेको छ । साथै, राष्ट्रिय एकता र विश्वव्यापी सहकार्यको कमी तथा विभाजित विश्वले भाइरसलाई थप बिस्तार हुन सहयोग गरिरहेको छ ।
टेडरोजले चेतावनी दिँदै, ‘एक करोड मानिसमा संक्रमण भयो, पाँच लाख मानिसको ज्यान गइसक्यो । जबसम्म सही रुपमा काम गरिँदैन तबसम्म संक्रमणले अझै बिकराल रुप लिने छ । राष्ट्रिय एकता र विश्वव्यापी सहकार्यको कमी तथा विभाजित विश्वले भाइरसलाई थप बिस्तार हुन सहयोग गरिरहेको छ…खराब अवस्था अझै आइसकेको छैन, आउन बाँकी नै रहेको बताएका छन् ।
अहिलेको अवस्था र देखिएको वातारणलाई हेर्दा हामीले खराब अवस्थाको मात्रै अपेक्षा गर्न सक्ने उनको भनाई छ । महामारी नियन्त्रणमा जर्मनी, दक्षिण कोरिया र जापानको उदाहरण हेर्न विश्वका सरकारहरूलाई उनको आग्रह रहेको छ ।