चीनमा नयाँ भाइरस फेला, कोरोना भाइरस जस्तो महामारी बन्न सक्ने
Tuesday, June 30th, 2020, 4:03 pm
काठमाडौं, असार १६ । चीनमा नयाँ फ्लू भाइरस फेला परेको छ । वधशाला र सुँगुरपालनसँग सम्बन्धित कृषि उद्योगमा कार्यरत मानिसहरूमा भाइरसले सङ्क्रमण गरेको प्रमाण फेला परेको हो ।
हाल महामारी बनेको कोरोना भाइरस जस्तै विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको नयाँ फ्लू भाइरस चीनमा फेला परेपची वैज्ञानिकहरूले चिन्ता ब्यक्त गरेका छन् । केही भिन्नताहरू भएपनि सन् २००९ मा फैलिएको स्वाइन फ्लूसँग मिल्दोजुल्दो भाइरसको नाम G4 EA H1N1 राखिएको छ । मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने G4 EA H1N1 भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको वैज्ञानिकहरूले बताएका हुन् ।
भाइरसको संरचनामा परिवर्तन हुन सक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फैलिन सक्छ ।
विश्वभरि फैलिने सम्भावनाका कारण यो भाइरसले महामारीको रुप लिन सक्ने बताइएको छ । तत्कालका लागि भाइरस नफैलिएको हुदा समस्या नभए पनि उक्त भाइरसमा मानिसलाई सङ्क्रमण गर्न आवश्यक सबै गुण भएकाले यसलाई निगरानीमा राख्नुपर्ने हुन्छ । यूकेको नटिङघम यूनिभर्सिटीमा कार्यरत प्राध्यापक किन-चाउ चाङले अहिले कोरोना भाइरसका कारण ध्यान मोडिएको भएपनि सम्भावित खतरनाक नयाँ भाइरसलाई बेवास्ता गर्न नहुने बताउछन् ।
भाइरस नयाँ भएकाले मानिसहरूमा यसलाई प्रतिरोध गर्ने क्षमता न्युन रहेको र अहिले उपलब्ध फ्लूका खोपहरू यो भाइरसविरुद्ध प्रभावकारी छैन । प्रोसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साईअन्सेज नामक जर्नलमा वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपायहरू कार्यान्वयन हुनुपर्ने उल्लेख गरेका छन् ।