टाउकोमा ढुंगाले हानेर आफ्नै साथीको हत्या, एकजना पक्राउ
Monday, June 29th, 2020, 5:03 pm
भक्तपुर, असार १५ । भक्तपुरमा आपसी झगडा हुँदा एकजनाले आफ्नै साथीको हत्या गरेका छन् । सिन्धुली जिल्लाको तीनपाटा गाउँपालिका घर भई हाल भक्तपुर नगरपालिका–४ गहिटी क्षेत्रमा मजदुरी काम गर्ने ३० वर्षीय इन्द्रबहादुर तामाङले आपसी विवादका क्रममा साथी कृष्ण तामाङ (जडीबुटी)को हत्या गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले आपसी विवाद हुँदा इन्द्रबहादुरले कृष्णको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।
सोमबार बिहान हिटीस्थित सार्वजनिक पाटीमा कृष्ण मृत अवस्थामा फेला परेका थिए । अन्दाजी ४५ वर्षका कृष्णको ठेगाना खुलेको छैन ।
मृतक कृष्णको टाउको, निधार र चिउँडोमा चोट लागेको देखिएपछि हत्या आशंकामा प्रहरीले अनुसन्धान गर्दा इन्द्रबहादुरले हत्या गरेको स्वीकार गरेको प्रवक्ता गिरीको भनाइ छ ।
उनलाई पक्राउ गरी परिसरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।