एक नम्बर प्रदेशमा धान रोपाइँ २१ प्रतिशत
Monday, June 29th, 2020, 4:50 pm
विराटनगर, असार १५ । मनसुनको सक्रियतासँगै प्रदेश नं– १ मा अहिलेसम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।
निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले मौसम अनुकूल रहेको वर्षा भइरहेको र किसानको खेत र बिउ तयार अवस्थामा रहेकोले एक साताभित्रै रोपाइँको प्रतिशत उल्लेखीय वृद्धि हुनेछ ।
यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले कुलोपैनी, वर्षा, बोरिङको भरमा खेती गर्ने गरेका छन् ।
यस प्रदेशमा तीन लाख ४० हजार ८२९ धान लगाउने क्षेत्रफलमा गत वर्ष एक लाख ९३ हजार ३९८ हेक्टरमा धान लगाइएको थियो ।
समग्रमा गएको वर्षमा यस प्रदेशमा ५६ दशमलव ७४ प्रतिशत रोपाइँ भएको थियो । वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले मनसुनको सक्रियता बढ्दा किसानको अनुहार हसिलो हुने र रोपाइँ पनि समयमै गर्न सकिने भएकोले उत्पादनमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।