नयाँ नक्सा जारी भएपछि सरकार परिवर्तनको खेल सुरु: प्रधानमन्त्री ओली
Sunday, June 28th, 2020, 10:06 pm
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा जारी भएपछि सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभएको छ ।
मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन गतिविधिहरु भएको बताउनुभएको हो ।
उहाँले आफुलाई पदबाट हटाउन भारतीय दूतावास नै सक्रिय भएको दाबी गर्नूभयो । भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गरेपछि आफूविरुद्ध षड्यन्त्र भएको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले नक्सा छापेबापत कसैले प्रधानमन्त्रीलाई हटाउँछु भनेर सोचेको भए पनि नेपालको राष्ट्रियता कमजोर नभएको बताउनुभयो ।
ओलीले आफ्नो पार्टी र संसदीय दललाई समेत कसैको बहकाउमा नलाग्न भन्दै प्रधानमन्त्री बन्न हतार नगर्न अन्य नेतालाई आग्रह गर्नुभयो । पार्टी भित्रै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको हो ।
प्रधानमन्त्री ओलीले भुलचुकले नेपालको गुमेको भूमि समेतको नक्सा नछापिएको बताउनुभयो ।