कोरोना रिमुभिङ कार्ड भ्रम मात्रै: स्वास्थ्य मन्त्रालय
Sunday, June 28th, 2020, 3:13 pm
काठमाडौं, असार १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ कार्डमा प्रयोग भएको रसायनहरूले मुटु, कलेजोमा गम्भिर असर गर्ने बताएको छ ।
कोरोना संक्रमण रोक्न–नियन्त्रणका लागि अहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सो मा गम्भीर असर गर्ने बताए ।
उनले कसैको भ्रममा परी यसको प्रयोग नगर्न समेत आग्रह गरे । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरूलाई कारवाहीको दायराम ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै औषधि नबनेको उल्लेख गर्दै मन्त्रालयले कोरोनाका नममा भ्रम नछर्न आग्रहसमेत गरेका छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा सहभागी नेताहरूले भाइरस संक्रमणबाट बच्न भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषयमा मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कार्ड घाँटीमा झुण्ड्याउँदैमा भाइरस नसर्ने कुनै विधि र प्रकृया सुरु भएको उनको भनाइ छ । उनले भने, ‘अहिलेसम्म कुनै पनि यस किसिमको कार्ड पत्ता लागेको छैन् । यस किसिमको विधि र प्रकृया सुरु नै भएको छैन् । यदि यस्तो भएको भए संसारभरि नै यस्तो अवस्था आउने थिएन होला । यस्ता विधिहरू प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भएर प्रकृयाअनुसार सरकारले नै वितरण गर्नेछ ।’’
संकटको अवस्थामा समाजमा भएका केही व्यक्तिले भ्रम फैलाउन अवशर फर्खिने गरेको उनले बताए । भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिका गालामा झुण्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ ।
नेकपा स्थायी समिति सदस्यहरूले शुक्रबार बैठकमा सहभागिता जनाउँदा ‘कोरोना रिमुभिङ कार्ड’ गालामा झुण्ड्याएका थिए । सामाजिक सञ्जालमा समेत सो कुराको चर्को आलोचना भइरहेको छ ।