इन्टर मिलानलाई कोपा इटालियाको उपाधि
Thursday, May 12th, 2022, 10:11 am
इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । बुधबार राति सम्पन्न फाईनल खेलमा युभेन्ट्सलाई पराजित गर्दै इन्टर च्याम्पियन बनेको हो ।
इभान पेरिसिचले अतिरित्त समयमा गरेको दुई गोल मद्दतमा इन्टर मिलानले बुधबार युभेन्टसलाई ४–२ ले पराजित गर्दै कोपा इटालियाको उपाधि जितेको हो ।
खेलको सातौं मिनेटमा निकोला बारेल्लाको गोलमा इन्टरले अग्रता लियो । तर दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै युभेन्टसले खेलमा बाउन्स ब्याक गरेको थियो । खेलको ५० औं मिनेटमा एलेक्स सान्ड्रोको गोलमा युभेन्टस १–१ को कराकरीमा फर्किदाँ त्यसको २ मिनेट पछि डुसान भाल्होभिचले गोल गरेपछि युभेन्टसले २–१ को अग्रता लिएको थियो ।
८० औं मिनेटमा हकान चालनोग्लुको पेनाल्टी गोलमा इन्टर खेल बराबरीमा फर्कायो । निर्धारित समय २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
९९ औं मिनेटमा पेरिसिचको गोलमा इन्टरले अग्रता लियो । १ सय २ मिनेटमा पेरिसिचको व्यत्तिगत दोस्रो गोलमा इन्टरले कोपा इटालियाको उपाधि उचाल्यो ।
इन्टरले जनवरीमा सुपरकोपा इटालियनाको उपाधि जित्दा पनि युभेन्टसलाई पराजित गरेको थियो । इन्टरले २०११ पछि पहिलो पटक कोपा इटालिया जितेको हो ।