स्पर्शको विज्ञानमाथि अनुसन्धानः मस्तिष्कको अद्वितीय सर्किटले ’सुखद स्पर्श’ को संकेत पठाउँछ
Tuesday, May 3rd, 2022, 10:54 am
अंगालो मार्दा, हात मिलाउदा वा स्पर्शले हामीलाई मनोवैज्ञानिक रूपमा उत्तेजित गर्छ । जुन हाम्रो भावनात्मक शुख र स्वस्थ विकासको लागि महत्त्वपूर्ण हुन्छ । यस्तो स्पर्शबाट किन सुखद अनुभूति हुन्छ भन्ने अहिलेसम्म थाहा थिएन । तर, हालै युनिभर्सिटी अफ वाशिंगटन स्कूल अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले एक सर्किट पत्ता लगाएका छन् जस्ले छालाबाट मस्तिष्कमा अनुभुती र संवेदना प्रसारण गर्ने गर्दछ ।
जीवनको हरेका क्षण स्पर्शको महत्व
अन्वेषकहरूले न्यूरोपेप्टाइड पनि पत्ता लगाएका छन् । यसले कोषहरुबीच सिग्नलहरू पठाउने काम गर्दछ । यो केमिकलले मेसेन्जरले सुखद स्पर्शको अनुभूति फैलाउँछ । अनुसन्धानको नेतृत्व गर्नु भएका युनिभर्सिटी अफ वाशिङटनका डाक्टर झोउ–फेङ चेनका अनुसार सबै स्तनधारी प्राणीहरूमा सुखद स्पर्शको अनुभूति निकै महत्त्वपूर्ण हुन्छ ।
डाक्टर झोउ–फेङ चेन भन्नु हुन्छ, ‘स्पर्श बच्चा हुर्काउने र प्रेम जनाउने मुख्य माध्यम हो । मर्ने व्यक्तिको हात समात्नु धेरै शक्तिशाली र सान्त्वनादायी हुन्छ । जनावरहरूले एकअर्कालाई स्पर्श गरेर प्रेम प्रभाह गर्दछन् । मानिसले अंगालो हालेर र हात मिलाएर यस्तो गर्छन । यसैले मसाज थेरापीले दुखाइ र तनाव कम गर्छ र मानसिक विकार भएका बिरामीहरूलाई फाइदा पु¥याउँछ ’।
डाक्टर चेनले अनुसन्धानका क्रममा प्रोकिनेक्टिन–२ नामक न्युरोपेप्टाइड बिना मुसा प्रजनन गराउदाँ तिनीहरूले सुखद स्पर्शको संकेतहरू महसुस गर्न नसकेको कुरा पत्ता लगाउनु भयो । यद्यपि काउकुती लगाउदाँ ति मुसाहरुले सामान्य रूपमा प्रतिक्रिया दिन जारी राखे ।
बच्चाको विकासमा आमाको स्पर्श आवश्यक
साइन्स जर्नलमा प्रकाशित उक्त अध्ययनका अनुसार अनुसन्धानकर्ताहरूले जन्मदेखि नै सुखद स्पर्शको अनुभूति नभएका मुसाहरू गम्भीर तनावमा रहेको पनि पत्ता लगाएका थिए । यो खोजले बच्चाको विकासमा आमाको स्पर्शको महत्तवलाई बताउँछ । यही कारणले गर्दा पोथी जनावरले आफ्नो बच्चा चाट्न रुचाउँछन् । यसले तनावबाट राहत दिन्छ ।