कोरोना जोखिम बढ्न थाल्यो, सतर्कता अपनाउन सबैमा स्वास्थ्य मन्त्रालयको आग्रह
Monday, May 2nd, 2022, 8:27 pm
काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।
पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गनुर््भएको छ ।
उहाँले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढिरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको समेत बताउनुभयो।
पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणहरुले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको उहाँको भनाइ छ।
उहाँले भँन्नुभयो, अहिले फैलिरहेको संक्रमण ओमिक्रोनकै एउटा प्रजातिको भएको तथ्यहरु आइरहेको छ। पछिल्ला तथ्यांकहरु प्रारम्भिक छन् त्यसैले धेरै कुराहरु आउन बाँकी नै छ। तर, जति आएका छन् त्यस तथ्यले संक्रामक छ, त्यसलाई रोकथाम गर्नका लागि हामीले विगतमा गरेका उपायहरु प्रभावकारी छन्।
कोभिड १९ बिरुद्धको खोप नै प्रभावकारी छ। यसको जोखिमका सन्दर्भमा हामीले समयमै सावधानी अपनाउन सके अस्पताल भर्ना, मृत्यु र अङ्गभङ्ग हुने कुरा जस्ता जोखिमलाई कम गर्न सकिन्छ।’
डा. अधिकारीले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो।
उहाँले स्वास्थ्य मन्त्रालयले निर्वाचनबाट हुनसक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्यका सावधानीहरु अपनाउन आग्रह गरेको पनि जानकारी दिनुभयो।
निर्वाचनमा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न उम्मेदवारहरुलाई घरदैलो कार्यक्रम गर्दा पनि सुरक्षित तरिकाले गर्न र मतदाताहरुलाई पनि सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो।
उहाँले विदेशबाट आउने नागरिकहरुलाई ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैले मास्क अनिवार्य लगाउन आग्रह गर्नुभयो। उहाँले कोरोनाको विभिन्न चरणका खोप लगाउन बाँकी रहेकाहरुले समयमै कोरोना बिरुद्धको खोप लगाउन अपिल समेत गर्नुभयो।