स्वतन्त्र उम्मेदवार राजन कोइराला: गोल्ड मेडलिष्ट देखि दर्जनौँ संस्थाका अनुभवी नेतृत्वसम्म
Monday, May 2nd, 2022, 10:35 am
लामो समयदेखिको देश विकासको खडेरी चिर्न युवा साथै सक्षम र कुशल व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्ने बुलन्दित आवाजलाई आत्मसात् गर्दै देशैभर निकट भविष्यमा हुँदै गरेको स्थानीय तहको निर्वाचनमा युवा वर्गको उम्मेदवारी उत्साहपूर्ण देखिएको छ। त्यसै जमातका एक यूवा हुन् – राजन कोइराला।
को हुन् राजन कोइराला??
‘लौरो’ चुनाव चिन्ह सहित स्वतन्त्र उम्मेदवारको रूपमा नागार्जुन नगरपालिकाको मेयर पदका निम्ति राजन कोइराला चुनावी प्रतिस्पर्धामा छन्।
२०४२ सालमा धादिङमा जन्मेका कोइराला विगत एकदशक देखि युवा सशक्तीकरण, शिक्षा, रोजगारी र परामर्श क्षेत्रमा काम गर्दै आएका छन्। २०४७ सालमा आफ्नो परिवारसँगै काठमाडौं बसाइँ सरेका कोइरालाले पिपुल्स क्याम्पसबाट पत्रकारिता र राजनीतिशास्त्र संकायमा आइ. ए स्वर्ण पदक विजेता भइ उच्च शिक्षा हासिल गर्न अमेरिका गएका थिए। उनले टेक्सास राज्यका दुइ उत्कृष्ट विश्वविद्यालयहरूबाट पत्रकारितामै स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरी ९ वर्षपछि नेपाललाई नै अवसर नै अवसरको देशका रूपमा अर्थ्याइ २०६९ सालमा नेपाल फर्केका हुन्।
अहिलेसम्म ५० हजार भन्दा बढी युवाहरूलाई तालिम दिइसकेका कोइराला नेपाल युवा परिषद्, मेरोजब डटकम, एडुसञ्जाल डटकम, लायन्स क्लब, एडुपत्र लगायतका दर्जनौँ संस्थाहरूमा सम्पादक, व्यवस्थापक, सल्लाहकार, प्रशिक्षक, मेण्टर लगायतका विभिन्न नेतृत्वदायी भूमिकामा अनुभव बटुलिसकेका छन्। ‘जीवन-परिवेश’ जस्ता विभिन्न कार्यक्रमहरूमा समेत सहजकर्ताका रूपमा समेत काम गरिसकेका उनले नेपाल जस्तो विकासशील देशमै धेरै अवसर रहेको भन्दै अनवरत युवाको क्षेत्रमा काम गर्दै आएका छन्।
के के छन् त नगर विकासका योजना??
विश्वमा विभिन्न सहरका कुनै राजनीतिक दलमा आबद्ध नभएका मेयरले धेरै राम्रा काम गरेका त्यो लहर नेपालमा पनि आएको भन्दै कसैको निन्दा र विरोध गर्नुभन्दा पनि पुरानो काम गर्ने शैलीलाई परिवर्तन गरी नगरलाई परिवर्तन गर्न निरर्थक कुरा भन्दा पनि काम गरेर देखाउन सक्ने क्षमता भएकाले आफ्नो उम्मेदवारी घोषणा गरेको उनले बताए।
नगरपालिकामा प्रत्यक्ष युवाको सहभागिता गराइ सडक निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल व्यवस्थापन लगायतका स्थानीय विकासका कार्यक्रम तिव्रगतिमा बढाइने, फोहोरमैला व्यवस्थापनमा नयाँ प्रविधिको विकास गरेर नगरपालिकालाई हराभरा राखिने, नगरपालिकाका हरक घरलाई याड्रेस लोकेटर प्रणालीमा राखेर हुलाकी माध्यमको विकास गर्ने र स्थानीय सरकारसँगको सूचना प्रवाहमा सहजताको माहोल सिर्जना गर्ने, प्रशासनिक कार्यलाई डिजिटल बनाउने, धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा सम्वर्द्धन गर्ने लगायतका महत्वपूर्ण योजनाहरू पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।
लामो समयदेखि दलीय असक्षम व्यक्तिहरूबाट आजित बनेका हामी नागरिकले प्रष्ट योजना, पर्याप्त अनुभव, सक्षमता, निपुणता र कुशलता भएका कोइराला जस्ता जुझारू युवाहरूलाई यसपटक निर्वाचित गरी देश परिवर्तनको जिम्मा युवालाई दिने कि??