एकल पुरुषलाई पनि भत्ता दिन सांसदको माग
Friday, June 26th, 2020, 1:34 pm
विराटनगर, असार १२ । एक नं प्रदेश सरकारका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रताप प्रकाश हांगामले एकल पुरुषलाई पनि भत्ता दिनुपर्ने माग गरेका छन् ।
शुक्रबारको प्रदेशसभाको बैठकको शून्य समयमा बोल्दै उनले एकल पुरुषलाई पनि भत्ता दिनुपर्ने माग गरेका हुन् । एकल महिलालाई मात्र प्रदेश सरकारले बजेट छुट्ट्याएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।
प्रदेश सरकारले श्रीमान नभएका महिलालाई भत्ता दिनका लागि बजेट विनियोजन गरेको तर श्रीमती नभएका पुरुषलाई भत्ताको व्यवस्था नगरेको उनको भनाइ थियो ।
यसैगरी उनले गाउँमा खेताला नआउने डरका कारण एकल पुरुषलाई काममा पनि नबोलाउने गरेको बताए । उनले भने, ‘ऋण माग्दा पनि यो भाग्छ भनेर कसैले दिँदैनन् । बिहे गर्न पनि कसैले पत्याउँदैनन् । अरु डराउँछन् भनेर खेतालामा पनि एकल पुरुषलाई बोलाइँदैन । यसैले प्रदेश सरकारले एकल पुरुषलाई पनि भत्ता दिनुपर्छ ।’