मोरङमा स्कारपियोको ठक्करबाट तीन जनाको ज्यान गयो
Friday, June 26th, 2020, 11:07 am
विराटनगर, असार १२ । मोरङमा स्कारपियोको ठक्करबाट तीन जनाको ज्यान गएको छ । बिहीबार राति मोरङको कानेपोखरीमा भएको उक्त दुर्घटनामा परी एक महिला र दुई पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरिले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ खण्डमा बा १४ च ९६४३ नम्बरको स्कोरपिओले पैदल महिला र मोटरसाइकलमा सवार दुई पुरुषलाई ठक्कर दिएको थियो ।
झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको सो स्कारपियोले सुरुमा महिलालाई ठक्कर दिएको थियो । त्यपछि अनियन्त्रित भएको स्कारपिओले विपरीत दिशाबाट आउँदै गरेको दुईजना सवार मे १० प २७५६ नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो ।
स्कारपियोको ठक्करबाट अन्दाजी ४५ वर्षीया पहिचान नखुलेकी महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार झापा बाह्रदशी गाउँपालिका– ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बूको उपचारका लागि अस्पलताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
स्कारपिओका चालक सुनसरीको इटहरी–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकलाई कानेपोखरी–६ रमाइलोबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।