मोटरसाइकलबाट हतियार बरामद, एकजना पक्राउ
Thursday, June 25th, 2020, 8:11 pm
धरान, असार ११ । सुनसरीको धरानबाट मोटरसाइकलबाट हतियार बरामद भएको छ । धरान उपमहानगरपालिका–१५ बाट हतियार बरामद भएको हो भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–६ स्थितमा बस्ने २७ वर्षीय रोशन राई रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।
धरान–१५ मा लुकीछिपी बसेका राईलाई विशेष सुराकका आधारमा हिजो राति पक्राउ गरिएको थियो । राईलाई पक्राउ गरिएसँगै थप अनुसन्धान गर्ने क्रममा धरान–१५ स्थित रामहंस मार्गमा उनले प्रयोग गरेको मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा आज बिहान बरामद गरिएको थियो ।
बरामद गरिएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनैले सिटमुनि प्लाष्टिकमा बेरेर लुकाइ–छिपाइ राखेको १ थान पेस्तोल, ३ राउण्ड गोली फेला पारी बरामद गरिएको हो ।
साथै पक्राउ परेका राईको साथबाट २ थान मोबाइल र ६ थान सिम कार्डसमेत बरामद गरिएको छ । पक्राउ परेका रोशन राईमाथि सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्धामा अनुसन्धानका लागि दिन ६ (छ) म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।