कोरोना संक्रमणका कारण पाटन अस्पतालमा एक जनाको मृत्यु
Thursday, June 25th, 2020, 2:59 pm
११ असार, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो । पाटनमा कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभयो ।
चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहाँलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।