साउनभित्र एसईईको नतिजा आउने
Thursday, June 25th, 2020, 12:59 pm
काठमाडौँ, ११ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउनभित्रै आउने भएको छ । एसईईका विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पर्ने भएका हुन् ।
कक्षा १० का विद्यार्थीको मूल्यांकन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्यांकन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले नतिजा प्रकाशित गर्ने जानकारी दिँदै साउनभित्रै ग्रेडसिट विद्यार्थीको हातमा पर्ने बताए ।
कोरोना भाइरसको संक्रमण भयावह भएको अवस्थामा बाहेक साउनभित्रै सबै काम सक्ने योजना बनाइएको छ ।
नतिजा प्रकाशनपछि चार लाख ८३ हजार विद्यार्थीको ग्रेडसिट र प्रमाणपत्र प्रिन्ट गर्न, परीक्षा नियन्त्रकको हस्ताक्षर तथा छाप लगाउने कार्यका लागि केही दिन लाग्ने अनुमान गरिएको छ ।