सिमाका कुरा : चिनियाँ पक्षले मितेरी पुलसम्म नै सामग्री ल्याइदिने गरी नाका खोल्ने सहमति
Wednesday, June 24th, 2020, 6:59 pm
असार १०, रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी एक हप्ताभित्रै सञ्चालनमा आउने भएको छ ।
चिनियाँ पक्षले मितेरी पुलसम्म नै सामग्री ल्याउदिनेसहित केही शर्त पालना गर्ने गरी नाका खोल्ने सहमति भएको हो । रसुवा र जिलोङ काउन्टीको स्थानीय प्रशासनबीच बुधबार(आज) बसेको सीमा सुरक्षा बैठकले उच्च सुरक्षा सतर्कता अपनाएर नाका खोल्ने सहमति गरेको हो।
सीमामा व्यापारिक गतिविधि बढेपछि कोरोना सङ्क्रमण पनि फैलन सक्ने भएकोले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नाका खोल्ने सहमति भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराउनुपर्ने छ ।
नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिने छन् । सुरुमा ट्रायलका लागि चिनियाँ चार वटा ट्रकले सामग्री लिएर मितेरी पुल आउने उहाँको भनाइ छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण गएको माघ १५ गतेदेखि रसुवागढी नाका औपचारिक रूपमा बन्द भएको थियो