झापाका सबै स्थानीय तहमा फैलियो कोरोना
Wednesday, June 24th, 2020, 6:38 pm
झापा, असार १० । झापाका सबै स्थानीय तहमा कोरोना संक्रमण देखिउको छ । सोमबारसम्म कोरोना संक्रमणबाट मुक्त रहेको बिर्तामोड नगरपालिकाका दुई जनामा मंगलबार कोरोना पुष्टि भएसँगै कोरोनाको संक्रमण झापाका सबै स्थानीय तहमा पुगेको हामे ।
मंगलबार बिर्तामोड नगरपालिका–५ बस्ने ३६ वर्षीय र वडा नम्बर ७ बस्ने ४६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । एक जना होम क्वारेनटाइनमा र एक जना नगरपालिकाले स्थापना गरेको क्वारेनटाइनमा बसेका व्यक्ति रहेको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
उनीहरू केही दिनअघि भारतबाट फर्किएका थिए ।योसँगै झापाका १५ वटै स्थानीय तहमा कोरोनाको संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
हिजो थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै झापामा कोरोना संक्रमितको संख्या दुई सय पाँच पुगेको छ । मंगलबार पाँच जना पुरुष र आठ महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।
उनका अनुसार मंगलवार बिर्तामोडमा दुई जना, बुद्ध शान्तिमा छ जना, मेचीनगरमा तीन र हल्दिवारीमा दुई जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका सात महिला केही दिनअघि कुवेतबाट फर्किएका हुन् भने एक जना भारतबाट फर्किएकी हुन् । उपचारका लागि संक्रमित पुरुषलाई मोरङको गोठगाउँ र महिलालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।