बागमती प्रदेशमा गाडी भाडा बढ्यो : वैशाख १ गतेदेखि लागू हुने
Saturday, April 9th, 2022, 10:35 am
काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढेको छ । बढेको भाडा नयाँ वर्ष, वैशाख एक गतेदेखि लागू हुनेछ ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अनुसार भाडादर समायोजन गरिएको हो । भाडा समायोजनपछि काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ भाडा तय भएको छ । यसअघि न्यूनतम १८ रुपैयाँ थियो ।
त्यस्तै, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।
यस्तै, ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २०० मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ।
प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति २०० मिटरको हकमा १३ रुपैयाँ कायम गरिएको छ।
पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने गरिन्छ ।
