इंग्लिस प्रिमियर लिग फुटबलमा आज ५ खेलहरु हुँदै
Wednesday, June 24th, 2020, 3:24 pm
काठमान्डौ असार १० । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ५ खेलहरु हुँदैछन् ।
प्रिमियर लिगमा आज लिग लिडर लिभरपुल, म्यानचेस्टर युनाइटेड, एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् । उपाधि नजिक रहेको लिभरपुलले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुल र क्रिस्टलबीचको खेल नेपाली समय अनुसार बुधबारराति १ बजे पछि सुरु हुनेछ । बुधबारको खेलमा लिभरपुलले जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छ । दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २० अंकले अघि रहेको लिभरपुल यस सिजन उपाधि नजिक रहेको छ । लिभरपुलले ८३ अंक जोडेको छ भने सिटीको ६३ अंक रहेको छ ।
क्रिस्टललाई पराजित गरेमा र सिटीले चेल्सीसँगको खेल गुमाएमा लिभरपुल च्याम्पियन बन्नेछ । ४२ अंक जोडेको क्रिस्टल नवौं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै बुधबार म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडसँग खेल्नेछ । युनाइटेड र सेफिल्डबीचको खेल नेपाली समय अनुसार राती पौने ११ बजेपछि सुरु हुनेछ ।
घरेलु मैदानमा जित निकाल्दै युनाइटेड शीर्ष चार टोलीसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ । पाँचौं स्थानको युनाइटेडको ४६ अंक रहेको छ । लिग अन्तर्गत नै एभर्टनले नर्विचसँग खेल्दा वुल्भ्सले बर्नेमाउथसँग खेल्नेछ । त्यस्तै आजै न्युकासल र एस्टन भिल्लाबीच समेत खेल हुनेछ ।०००