परामर्श गर्न राष्ट्रपतिले बोलाइन् प्रमुख दलका शीर्ष नेता
Wednesday, June 24th, 2020, 12:56 pm
काठमाडौं, असार १० । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीहरूसहित प्रमुख दलका शीर्ष नेताहरूलाई परामर्शका लागि बोलाएकी छन् ।
राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासहितलाई बोलाएकी हुन् ।
यस्तै, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्दलाई पनि निम्ता गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार छलफलका लागि शीर्ष नेताहरूलाई शीलत निवासमा साँझ ५ बजे बोलाइएको हो ।
छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ ।
उनले भने, ‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीनचार महिना नै भेट भएको थिएन । सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँह?लाई बोलाउनु भएको हो । उहाँको यो नियमित भेटघाट पनि हो ।’