पेटभित्रै बच्चाको मृत्यु भएकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार
Wednesday, June 24th, 2020, 11:46 am
खोटाङ, असार १० । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया गर्भवती मन्दिरा विश्वकर्माको पेटभित्रै बच्चाको मृत्यु भएपछि सिकिस्त बनेकी उनलाई उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरीएको हो ।
सुत्केरी व्यथाले च्यापेपछि उनलाई सोमबार राति जिल्ला अस्पताल खोटाङमा भर्ना गरीएको थियो ।
उनको गर्भमा रहेको बच्चाको मृत्यु भएको थाहा भएपछि थप उपचारका लागि मङ्गलबार मध्याह्न हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ ल्याईएको हो ।
जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा नारायण बरालका अनुसार विश्वकर्माको लगातार रक्तस्राव भएपछि थप उपचारका लागि रिफर गरिएको थियो । “सोमबार राति अबेर अस्पताल ल्याइएकी मन्दिराको बाटैमा पेटभित्र रहेको बच्चा मरिसकेको अनुमान गरिएको छ”, उनले भने, “ढिलोगरी अस्पताल ल्याइएको थियो, रक्तस्राव भइरहेकाले आमाको समेत ज्यान जोखिममा पर्ने हुँदा थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित प्रसूतिगृह रिफर गरिएको हो ।”
दोस्रो पटक गर्भवती भएकी उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत ग्राण्डी अस्पतालको हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको जनाइएको छ । कलिलै उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी उनका तीन वर्षीय छोरा छन् ।
उनको उद्धार, उपचारलगायत सबै खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने सांसद विशाल भट्टराईले बताए । उनले भने, “काठमाडौँ अवतरण हुनासाथ अस्पताल भर्ना गरेर उपचार शुरु भएको छ । अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।”