डिसेम्बरदेखि नै इटलीमा कोरोना सङ्क्रमण सुरु भइसकेको थियो
Tuesday, June 23rd, 2020, 9:55 pm
कोरोना भाइरस चीनमा डिसेम्बरको अन्त्यमा कोरोना भाइरस भेटिएको मानिन्छ । इटलीमा फेब्रुअरीरको मध्यमा मात्र कोरोना भाइरस पहिलोपल्ट पुष्टि भएको बताइएको थियो । तर, इटलीमा गत १८ डिसेम्बर भन्दा अघि नै कोरोना भाइरस सङ्क्रमण सुरु भएको अध्ययनले देखाएको छ ।
बीबीसीका अनुसार इटलीको नेशनल इन्स्टिच्युट अफ हेल्थ (आइएसएस)ले इटलीमा गरेको अध्ययनले पहिलो पटक संक्रमण पुष्टि हुनुभन्दा दुई महिना अघि नै देशमा भाइरसको सङ्क्रमण सुरु भइसकेको पत्ता लगाएको हो । इटलीका वैज्ञानिकहरूले बताए अनुसार सहरको दुईवटा ढलमा रहेको फोहोर पानीमा गरेको अनुसन्धानले इटालीमा १८ डिसेम्बरमा कोरोना भाइरस रहेको पाइयो ।
वैज्ञानिकहरूले गत अक्टोबर देखी फेब्रारीको बीच उत्तरी इटालीको फोहोर पानी प्रशोधन प्लान्टबाट संकलन गरिएको ४० वटा ढल निकास नमूनाहरू जाँच गरेका थिए । अक्टुबर र नोभेम्बरको नमूनाहरूमा भाइरस नदेखिएपनि इटलीमा गरेको उक्त अनुसन्धानबाट आएको प्रमाणले कोरोना भाइरस देखिएको समयभन्दा निक्कै पहिले कोरोना भाइरस सक्रिय रहेको देखाएको हो ।