४२ हजार भन्दाबढी विदेशी पर्यटक भित्रिए
Monday, April 4th, 2022, 3:57 pm
काठमाडौं । सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।
नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्यृत गर्दै उपलब्ध गराएको तथ्यांकअनुसार मार्चमा हवाई मार्ग भएर कुल ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका हुन्। अघिल्लो वर्षको मार्चमा १४ हजार ९ सय ७७ पर्यटक नेपाल आएका थिए।
यस वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो। यो वर्षको सुरुवाती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ।
सन् २०२२ को जनवरीमा १६ हजार ९ सय ७५ र फेब्रुवरीमा १९ हजार ७ सय ६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन्। वसन्त यामको हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गर्छन्।