तीन महिना लामो लकडाउनको अन्त्य गरेपछि स्पेनमा यात्रा प्रतिबन्ध हटाइयो
Tuesday, June 23rd, 2020, 9:46 pm
स्पेनले पर्यटक उद्योग पुनः सुरु गरेर विदेशी यात्रुहरूको लागि बाटो खोलिदिएको छ । स्पेनमा तीन महिना लामो लकडाउनको अन्त्य गरेपछि पर्यटकहरूको लागि लगाइएको यात्रामा प्रतिबन्ध हटाइएको बीबीसीमा उल्लेख गरेको छ ।
स्पेनले मार्चको मध्यमा लकडाउन लागू गरेको थियो । युरोपमा संक्रमणको स्थितिमा सबैभन्दा खराब भएको स्पेनमा अहिलेको अवस्था राम्रो रहेको हुदा स्पेनमा अब युरोपियन युनियन, शेन्जेन जोन र बेलायतका मानिसहरूलाई भ्रमण गर्न दिइने भएको हो । एयरपोर्टमा मुलुकमा आउने सबै यात्रुहरूको तापक्रम जाँच गरिनुका साथै कोरोना संक्रमण सम्बन्धी सबै जानकारी र सम्पर्क विवरण पनि लिइने भएको छ ।
साथै सार्वजनिक स्थानहरूमा फेस मास्क लगाउन आवश्यक रहेको छ । स्पेनमा हरेक वर्ष लगभग ८ करोड पर्यटक आउने गर्छन् । यहाँको जीडीपीमा पर्यटन उद्योगको योगदान १२ प्रतिशत रहेको छ । स्पेनमा हालसम्म २ लाख ९३ हजार ५ सय ८४ जना कोरोना संक्रमित छन् भने २८ हजार ३ सय २४ जनाको मृत्यु भएसकेको छ ।